अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका र जापानको टोनो सिटी लातेबीच भगिनी सम्वन्ध स्थापित गर्न जापानी टोली झापा आएको छ ।
अर्जुनधारा नगरपालिकाको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिन बुधवार(आज) जापानको टोली अर्जुनधारा नगरपालिका आएको हो । टोलीले अर्जुनधारा नगरको वडा नम्बर ४ र ५ को अवस्थावारे जानकारी तथा अवलोकन गर्ने अर्जुनधारा नगरप्रमुख वलदेवसिंह गोम्देन तामाङले जानकारी दिए ।
चार सदस्यीय टोलीमा टोनोसिटी लते सहरकी उपमेयर सोकी सुजुकी, प्रमुख परीक्षक यासुहिको कुराउची, यिमिको किकुची, अन्तर्राष्ट्रिय सल्लाहकार टोमोनरी किकुची रहेका छन् । अर्जुनधारा आएको जापानको टोलीले नगरप्रमुख बलदेव र जापानको टोनोसिटी लाते शहरका मेयरबिच जुम मिटिङसमेत गरेको छ ।
टोलीले नगरमा भएका स्वास्थ्य, शिक्षा, र कृषि सम्वन्धि अध्ययन तथा अबलोकन गरेर भगिनी सम्वन्ध विस्तारका लागि अगाडि बढ्ने नगरले जनाएको छ । टोलीलाई अर्जुनधारा नगरपालिकामा पञ्चेबाजासहित स्वागत गरिएको थियो ।