• आषिका लम्साल  

विराटनगर । 

सुनसरी इटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोग गरिदिन याचना गरेका छन् । दुवै मृगौला फेल भएकोले पत्रकार पिबी दियालीले उपचारका लागि सरकार, समाजिक संघसँस्था र दयालु दाताहरुसँग सहयोगका लागि याचना गरेका हुन् ।    

सुनसरीको ईटहरीमा बसेर २९ बर्षदेखी सक्रृय व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकार   दियाली विश्वकर्माले आफनो दुबै मृगौला खराब भएको र उपचारका लागि आफुसँग आर्थिक हैसियत नभएकोले सहयोगकालागि अनुरोध गर्न बाध्य भएको बताए ।   

आफु मृगौला रोगी भएकोले उपचारका लागि सहयोग गर्न पत्रकार महासंघ केन्द्रिय र प्रदेश समितिलाई अनुरोध गरिसकेको पत्रकार दियालीले बताए । 

पत्रकार दियाली उच्चरक्त्तचाप र मधुमेहका विरामी पनि हुन । लामो समय प्रेसर र डाइबेटिजको कडा औषधी सेवन गरेकै कारण आफनो मृगौला खराब भएको हुनसक्ने उनको भनाई छ ।    

४८ बर्षिय  पत्रकार दियाली ईटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधानसम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लााष्ट दैनिकमा पत्रकारिता गरेका थिए । उनले ईटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए ।  

पत्रकार दियालीका अनुसार उनी संकटकालको समयमा तीन महिना हिरासतमा परेका थिए । उनलाई  ३ सय ३५ दिन नजर बन्दमा पनि राखिएको थियो ।  

पत्रकार दियाली हाल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन । उनी नेपाल दलित पत्रकार संघ र  समाजबादी प्रेस संगठनको केन्द्रिय सदस्य हुन । पत्रकार दियाली दलित हकहितका लागि सक्रृय रुपले लागिपर्दै आएका छन । उनले सम्पत्तीका नाममा आफुसँग ईटहरीमा एउटा सानो घर मात्र भएको बताए । उनका श्रीमती र एक छोरा छन । श्रीमती चियानास्ता पसल सञ्चालन गर्दछिन् ।