बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर समितिले आपत्ति जनाएको छ । उपप्रमुख संग्रौलालाई नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर समितिले गलत हर्कत नगर्नसमेत चेतावनी दिएको छ ।
नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगर कमिटीका अध्यक्ष मोहन सुब्बालाई भाटे कारबाही गर्ने अडियो र भिडियो सार्वजनिक भएकोप्रति नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गलत हर्कत नगर्न चेतावनी दिएको हो । संग्रौलाले माओवादी केन्द्र र सिंगो पार्टीप्रति गलत आक्षेप लगाउँदै दिएको अभिव्यक्ति बिरुद्ध पार्टीले विज्ञप्ति जारी गर्दै संग्रौलालाई गलत हर्कत नदोहोर्याउन चेतावनी दिएको हो ।
सोह्र बर्षअघि भएको जग्गाको बिषयलाई लिएर संग्रौलाले कपोकल्पित र भ्रामक अभिव्यक्ति दिंदै पार्टी र नेतृत्व बिरुद्ध योजनाबद्ध ढंगमा लागेको भन्दै बिर्तामोड नगर कमिटीले विज्ञप्तिमार्फत आरोप पुष्टि गर्नसमेत चुनौती दिएको छ ।
नगर उपाध्यक्ष जनबहादुर (जेबी) जबेगु र सचिव गणेश कालिकोटेले हस्ताक्षर गरेको विज्ञप्तिमा पटक–पटक पार्टी र नेतृत्व विरुद्ध मिथ्या आरोप लगाउँदै आएका संग्रौलालाई बिना प्रमाण जथाभावी नबोल्नसमेत चेतावनी दिएको छ ।