झापा ।

नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर २२ गते काठमाडौंमा गर्न लागेको जनपरिचालन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले जाजरकोट भूकम्पका कारण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।‘भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ’ उनले भने ।

माओवादीले तीनमहिने पार्टी रूपान्तरण अभियानअन्तर्गत उक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यस्तै, बैठकले जाजरकोट भूकम्पका कारण अभियानअन्तगर्त चियापान, शुभकामना आदानप्रदान कार्यक्रम पनि नगर्ने निर्णय गरेको छ । संगठनात्मक कार्यक्रम भने जारी राखिने उनले जानकारी दिएका छन् ।