बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिकाले आइतवार (आज) सूचनाको हक सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाको आयोजनामा  नगरभित्र हुने गरेका काम कारवाहीको विषयमा सबैलाई जानकारी प्रदान गराउने उदेश्यले सबै नागरिकलाई सूशुचित गराउन सूचनाको हक सम्वन्धि कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापाले सूचनाको हक प्रयोग र त्यसको फाइदाका विषयमा जानकारी  गराएकी थिइन् ।  

कार्यक्रमका सहभागीहरुले सहज रुपमा अझैंपनि सूचना पाउन नसक्ने अवस्था रहेको बताएका थिए । जिल्ला स्थित सरकारी कार्यालयहरुमा सूचना अधिकृत भएपनि उनीहरुले नागरिकलाई चाएिको सूचना उपलब्ध गराउन नसक्ने गुनासो गरेका थिए । त्यस्तै उनीहरुले सूचना अधिकृत भएपनि तोकिएका सूचना अधिकृतले मात्र सबैलाई उपलव्ध गराउन नसक्ने भएकाले छुट्टै कर्मचारीको व्यवस्थापन गर्नु पर्ने बताए ।

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नगरका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्वागत गरेका थिए ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले गरेका थिए । कार्यक्रममा नगरका वडाध्यक्ष, वडासदस्य, सामाजिक संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।