काठमाडौं ।

गएरातिको भूकम्पमा मृत्यु हुनेको संख्या १२८ जना पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जनाएको छ ।  जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी अनुसार खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।

रुकुम पश्चिममा सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिकालगायतका ठाउँमा मृतकको संख्या बढी छ । घाइतेहरुको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

कतिपय ठाउँ सञ्चार सम्पर्क विच्छेद भएको, सडक भत्किएका कारण जान नसकिएको तथा दुर्गम र भौगोलिकरूपमा विकटताका कारण सुरक्षाकर्मी समयमा पुग्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको संकलन भइरहेको सम्बन्धित जिल्लाका अधिकारीले बताएका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

यता सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिइसकेको छ । रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिइसकेका हुन् ।