काठमाडौं ।
जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ७३ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम र जाजरकोटमा गरी ७३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार विहान छ बजेसम्मको तथ्यांक अनुसार ७३ जनाको मृत्यु हुनुका साथै १०८ जना घाइते भएको छ । उद्दारका लागि प्रहरी खटिरहेकोले मृतक र घाइतेको संख्या बढ्न सक्ने कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार भूकम्पमा परेर हालसम्म १०८ जना घाइते भएका छन्। जाजरकोटमा ४४ जना र रुकुममा २७ जनाको शव निकालिएको छ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
भूकम्पमा परी दुई पालिकामा गरी ५३ जना घाइते भएका हुन् । घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो
त्यसैगरी, जाजरकोटको नलगाड नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । वडा नम्बर १ को सिउरी भन्ने गाउँका १२ जना, कल्पतमा ५ जना र पाली गाउँमा ३ जना गरी २० जनाको मृत्यु भएको वडाध्यक्ष धनबहादुर महरले बताए । भूकम्पमा परी नालगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ ।
मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने प्रहरीको भनाइ छ । घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।