काठमाडौं ।
खाडीलगायत मध्यपूर्वमा कार्यरत नेपाली कामदारका समस्या समाधान गर्न माग गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री शरतसिंह भण्डारी समक्ष मागसहितको ध्यानाकर्षण गराएको हो । विवादका बीच एनआरएनएको एघारौं सम्मेलनबाट अध्यक्षमा चयन भएका शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापनपत्रमा शर्माले नेपालीहरु रोजगारीका लागि जाने खाडी तथा मध्यपूर्वका देशहरुमा देखिएको राजनीतिक अन्योलले गर्दा भविष्यमा आउने सक्ने समस्यालाई सम्बोधन गर्न सरकारी निकायको नेतृत्वमा मध्यपूर्व संयोजक र युरोप संयोजकको संयोजकत्वमा एनसीसी प्रतिनिधि सदस्य तथा सम्बन्धित देशमा रहेका राजनीतिक दलका प्रतिनिधि संलग्न रहेको समिति गठन गर्न अनुरोध गरेका छन् ।
ज्ञापनपत्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूको सहजताका लागि अनलाइन प्रणालीबाट श्रम स्वीकृति प्रदान गर्ने प्रक्रिया सहज बनाउनुपर्ने उल्लेख छ । सामाजिक सुरक्षा कोषमा गर्ने योगदान तथा वैदेशिक रोजगारीमा जान अनिवार्य रूपमा गर्नुपर्ने म्यादी जीवन बीमाको व्यवस्थालाई एकद्वार नीतिबाट गर्नुपर्ने, सामाजिक सुरक्षा कोषका नीतिहरुलाई पनि लाभग्राहीमैत्री बनाइ समय अनुकूल बनाउनुपर्ने र कोषको सञ्चालक समितिमा गैरआवासीय नेपाली संघबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई डिजिटल सूचना प्रणालीमा आवद्ध गर्ने काम सराहनीय भएको भन्दै शर्माले त्यसलाई परिमार्जन गरी पारिवारिक लगतमा आधारित एकीकृत सामाजिक सूचना प्रणाली विकास गर्नुपर्ने माग पनि राखेका छन् ।