बिर्तामोड।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका सांसदहरुले प्रतिपक्षी भएर पाँच बर्षसम्म संसदको एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताएका छन् ।
नेपाली कांग्रेस झापा जिल्ला कार्य समितिको आयोजनामा आइतवार (आज) बिर्तामोडमा आयोजित मुख्यमन्त्रीको स्वागत सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले त्यस्तो धारणा ब्यक्त गरेका हुन् ।
संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रुपमा नबुझ्न आग्रह गर्दै उनले पार्टीका संस्थागत निर्णयहरुको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकुल रहेर मुख्यमन्त्रीको जिम्मेवारी संहाल्ने प्रतिबद्धता जनाए।
अधिकतम जनताको हितमा हुने गरी प्रदेशका योजना चयन गरेर बजेट बनाउने बताउँदै मुख्यमन्त्री कार्कीले दुईपटकको पहलमा पनि कांग्रेसको नेतृत्वमा सरकार नबन्ने अवस्था आएपछि आफू मुख्यमन्त्रीका लागि उभिएको बताए। कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले कानून मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक संहालेका कार्कीलाई मुख्यमन्त्रीको रुपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताका लागि गौरवको विषय भएको बताए।
कोशी प्रदेशमा कुनैपनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्य मन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको बताए । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले सरकारको नेतृत्व गर्दैगर्दा प्रदेशलाई अधिकारसम्पन्न एवं प्रदेश सरकार आवश्यक छ भन्ने जनभावना जागृत गराउने गरी कार्य गर्न सुझाव दिए।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको जानकारी नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।