झापा । 

कोशी प्रदेशमा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका केदार कार्की केन्द्रीय गठबन्धनमा आबद्ध दललाई पनि मिलाएर मन्त्रिमण्डल विस्तारको तयारीमा लागेका छन् । कात्तिक १ गते विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्नुपर्ने पक्षमा मुख्यमन्त्री कार्की रहेका छन् ।  

कोशी प्रदेश सभामा रहेका राप्रपा बाहेकका दलले कार्कीको पक्षमा मत दिएका थिए । तर, नेकपा एमालेले भने कांग्रेस बाहेकका कुनैपनि दललाई सरकारमा सहभागी गराए स्वीकार्य नहुने बताएको छ । बुधबार मुख्यमन्त्री कार्कीलाई भेटेर एमालेका नेताहरूले तत्काल सरकार विस्तार गर्न र पूर्वसहमति पालना गर्न ध्यानाकर्षण गराएका थिए । 

गठबन्धनलाई सरकारमा ल्याए एमालेले तत्काल सरकार छाड्ने र प्रतिपक्षमा बस्ने अवस्था देखिएको छ । मुख्यमन्त्री कार्कीले भने सहमतीय सरकारको लागि प्रयास गरिरहेको बताएका छन् । सरकारमा सहभागी हुन गठबन्धनलगायत दललाई आह्वान गरिसकेको र सरकारमा सबै दल सहभागी हुने सम्भावना रहेको उनको भनाईछ । सहमतिकै प्रयासका लागि हतारहतार सरकार विस्तार नगरेको र अब छिट्टै विस्तार गर्ने उनले बताए ।

एमालेका ३९ सांसदको सहयोगमा नेपाली कांग्रेसबाट ८ सांसद लिएर असोज २७ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनले असोज २८ गते एमाले संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गर्ने ८ मध्ये सांसद शमशेर राईलाई बिनाविभागीय मन्त्री नियुक्तगरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरे । बाँकी मन्त्रिमण्डल विस्तारको लागि एमालेले आफ्नो तर्फबाट मन्त्री बन्नेको सुची तयार गरी  मुख्यमन्त्री कार्कीलाई दबाब दिइरहेको छ ।

एमालेले भने गठबन्धनका माओवादीसहितका दल सरकारमा सहभागी भए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । एमालेले पाचकर्ण राई, एकराज कार्की र लिलाबल्लभ अधिकारीलाई मन्त्री तथा सिर्जना राई, रामप्रसाद मेहता र निरन राईलाई तत्काल राज्यमन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ । एमालेले दशैंविदा सकिएपछि शुक्रबार नै सरकार विस्तार गर्न मुख्यमन्त्री कार्कीलाई दबाब दिएको थियो । 

एमालेले भने आइतबार सरकारबारे मुख्यमन्त्रीसँग फाइनल कुरा गर्ने बताएको छ । केन्द्रीय गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई गठबन्धनलाई लिएर सरकार विस्तार गर्न सुझाव दिएको छ ।  मुख्यमन्त्री कार्की शीर्ष नेतासँग संवादमै छन् । माहोल बिग्रन नदिनको लागि उनले गठबन्धन र एमालेसँग निरन्तर छलफल गरिरहेका हुन्।  विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउनकै लागि कुरेको उनको भनाई छ।