झापा ।
बडादशैं नवदुर्गाको प्रसादका रुपमा मान्यजनबाट टीका शुभ साइतको रातो टीका तथा समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल बढेको छ ।
घरमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी बाहिरका मान्यजन, मामाघर, ससुराली, आफन्तको टीका थाप्न जानेको चहलपहल बढेको हो । बडा दशैंको शुभसाइतदेखि शुरु भएको दुर्गाको प्रसादका रुपमा टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाइने परम्परा रहेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा विजयादशमी मनाइने गरिन्छ ।
त्रेता युगमा भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।
बिजयादशमीदेखि गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापेर उनीहरुबाट यस, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइने गरिन्छ ।