बिर्तामोड ।
पूर्वकै सिद्ध देबीको शक्तिपीठ कालिकापीठ कालीस्थानमा प्रत्येक बर्ष शारदीय नवरात्रको अवसरमा देबी भगवतीको पूजा उपासना हुँदै आएको छ । यस बर्षपनि चण्डी पाठसहित वैदिक बिधिपूर्वक विशेष पुजा–आरधना गरिदैछ ।
कालिकापीठ कालीस्थान एवं कालिका मात्री समुहको संयुक्त आयोजनामा सन्चालन भैरहेको पुजा–उपासना अन्तर्गत महानवमीका दिन नव कन्याको पूजासहित समापन गरिने कालिकापीठ कालीस्थानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलले बताए।
आश्विन शुक्लपक्ष प्रतिपदादेखी कालीस्थानमा रहेको अक्षय बटबृक्षमुनि घटस्थापना गरी भगवती पराम्बा देबीको पुजा उपासना भैरहेकोमा शनिवार महासप्तमीका दिन फुलपाती भित्र्याइएको थियो । सो क्रममा स्थानीय पाथीभरा महिला समूहले नौमती बाजा बजाएर स्वागत–सम्मान गरिएको थियो ।
देबीका अनेक रुपहरुको पूजा उपासना गरि मनाइने यस पर्व अन्तरगत बिल्लबृक्षमुनि सरस्वतीको पूजा उपासना गरि सतपतृका दशैघरमा भित्र्याइने गरिन्छ । उखु, कोला, सामा, धान, हलेदो लगायतका पत्र–पुष्प दशैघरमा भित्र्याएर देबी भगवतीको पूजा उपासना गरिन्छ ।
महाशक्त्को उपासनाले दैवी प्रकोप एवं ग्रहदोष समन हुने, अनिष्ट निवारण हुने, महाकाली, महालक्ष्मी, महासरस्वती शक्ति स्वरुपिणी दुर्गा माताको पुजा उपासनाले इहलोकमा सुख, समृद्धि प्राप्त हुने र परलोकमा देवी सायुज्ज प्राप्त हुने पुराण एवं वैदिक ग्रन्थमा उल्लेख रहेको कालिकापीठका प्राचार्य रघुनाथ रिजालले बताए । असत्यमाथि सत्य, आसुरी शक्तिमाथी दैबी शक्तिको विजयोल्लासको रुपमा मनाइने दशै पर्वको बिशेष महत्व छ ।