झापा । 

नेपालीहरुको महान चाड बडादशैंको सातौं दिन शनिवार (आज)  घर–घरमा फूलपाती भित्रिएको छ  । नेपाली परम्पराअनुसार घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा फूलपाती भित्र्याउने चलन छ । 

दुर्गा भवानीको प्रतिमा राखिएका दशैंघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।आज झापासहित देशभरका दुर्गा भगवतीको मठमन्दिरमा पूजाआजा गरी फुलपाती भित्रेयाइने गरिन्छ । 

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ।