बिर्तामोड । 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले सबै संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको चाहना सबै जाति, भाषी र संस्कृतिको सम्मान गर्ने नीति रहेकोले एक–आपसमा मिलेर सबै पर्वहरु मनाउन अपिल गरेका छन् । 

नेपाल विद्यार्थी संघ झापाद्वारा आयोजित बडादशै टीका, आर्शिवाद र दक्षिणा बिषयक शुभकामना कार्यक्रमलाई  प्रमुख अतिथिको रुपमा शुक्रबार (आज) बिर्तामोडमा सम्बोधन गर्दै थेवेले बहुभाषिक, बहु सांस्कृतिक मुलुक भएकोले सबै मिलेर सबैको संस्कारमा रमाउन सक्नु पर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले आफ्नो संस्कृति मनाउदा अर्काको संस्कृतिको कसैले पनि बिरोध गर्न नहुने बताएका छन्। कार्यक्रममा नेपाली कांग्रेस झापा २ न क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नेबिसंघ केन्द्रीय सदस्य नारायण नेपाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सो अवसरमा कांग्रेस सभापति थेवेले सबै सभागीलाई दहिमा मुछेको रातो अक्षता लगाएका थिए भने सचिव हुमागाईले दक्षिणा, खगेन्द्र मैनाली र भोजराज सिटौलाले फुल अक्षता प्रदान गरेका थिए। नेबिसंघ झापा सभापति संजय निरौलाको सभापतित्वमा भएको कार्यक्रममा विशाल सिटौलाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन गोकुल पौडेलले गगरेका थिए ।