धनकुटा ।
पक्राउ परेका पहिचानवादी नेताहरुलाई बिना सर्त रिहाइ गर्ने सहमतिपछि घोषित धनकुटा बन्द खुलेको छ । असोज २५ गते बिहीबार धनकुटाको राजारानीबाट पक्राउ परेका तीनजना पहिचानवादीलाई पक्राउ गरिएको विरोधमा मंगलबार (आज) देखि धनकुटा अनिश्चितकालीन बन्दको घोषणा गरिएको थियो ।
धनकुटाका पहिचानवादी नेताहरु मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बूलाई प्रशासनले नियन्त्रणमा लिएको थियो । उनीहरु ५ दिनदेखि जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा रहेका थिए । धनकुटाको चौबिसेमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको कार्यक्रम अवरोध गरेको उनीहरुमाथि आरोप लगाइएको थियो ।
प्रदेश नं.१ पुनःनामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समिति धनकुटाले पहिचानवादीलाई स्थानीय प्रशासनले सोमबार रिहा नगरेपछि बाध्य भएर आन्दोलनको घोषणा गरिएको थियो ।