झापा । 

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघ रमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादशैं शुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । 

बडादशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ  । आज घरका पूजा कोठा र दशैं घरमा विधिपूर्वक दियो, कलश तथा गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । 

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । 

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।