भद्रपुर ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको ‘उद्योगहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ झापा र इलाममा प्रभावकारी देखिएको छ ।
झापा र इलाममा अलैंची तथा चिया क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएको सरोकारवालाहरु बीच झापाको विर्तामोडमा आयोजित योजना बैठकमा सहभागीहरुले बताएका हुन् ।
महासंघले गत वर्ष शुरु गरेको प्रशिक्षणात्मक सो कार्यक्रमले चिया तथा अलैंची उद्योग सम्बद्ध सबै पक्षलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको विषयमा सचेत गराउनुका साथै यसअघि उद्योगहरुमा देखिएका कमी–कमजोरी सुधारमा ठूलो मद्दत पुगेको बैठकका सहभागीहरुले बताएका थिए ।
नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित योजना बैठकमा नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार अग्रवाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, साना किसान चिया प्रशोधन उद्योग, पृथ्वीनगरका प्रवन्धक देवीप्रसाद कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश सदस्य ऋषिराज तिम्सिनालगायतले चिया तथा अलैंची क्षेत्रमा यो कार्यक्रम प्रभावकार िदेखिएको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।


















