बिर्तामोड ।

आगामी असोज २६ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘प्रदेशी–२ को टिम प्रचारप्रसाका लागि झापाको बिर्तामोड आएको छ । बडा दशैंको अवसर पारेर आगामी शुक्रबारबाट रिलिजमा आउने फिल्म परदेशी–२ को प्रमोशनका लागि निर्माण युनिट देश दौडाहामा लागेको छ । यसै क्रममा निर्माता मध्येका एक राजेश बशल, कलाकार प्रकाश सपुत र बर्षा शिवाकोटीको टोलीले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेको छ । 

लोकगायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित फिल्ममा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना प्रस्तुत गरिएको बंशलले बताए । 

प्रेम, बिछोड, उमंग, द्वन्द्वलगायतका मानवीय संवेदनाका विविध पक्षको समिश्रणसहित तयार पारिएको फिल्म गीतसंगीत पक्षलाई विशेष स्थान दिइएको छ। फिल्ममा  अभिनेताका रूपमा डेब्यु पाएका गायक प्रकाश सपूतलाई प्राथमिकता दिएको छ । प्रशान्त तामाङ साथमा अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीसँगै अभिनेता प्रशान्त तामाङ र दिलीप रायमाझीलाई पनि देख्न पाइन्छ ।

निर्देशक रायमाझीको सुपरहिट सामाजिक फिल्म गोर्खा पल्टनमा लाहुरेको भूमिकामा देखिएका अभिनेता तामाङ परदेशी–२ मा पनि सोही भूमिकामा छन् । रायमाझीले परदेशीको सफलतापछि त्यसैको सिक्वेलस्वरूप परदेशी–२ निर्माण गरेका हुन् ।

निर्देशक रायमाझी र वंशलको संयुक्त निर्माणमा बनेको फिल्ममा प्रकाश, केकी, वर्षा, प्रशान्त र दिलीपका साथमा नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतले अभिनय गरेका छन्। फिल्ममा रमेश बिजीको कथा र पटकथा, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।