हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाका स्थानीय तह कर्मचारी संघर्ष समितिले अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चित कालका लागि बन्द गरेर विरोधमा उत्रिएका छन् ।

संघीय निजामती सेवा विधेयकको विभिन्न दफाहरु कर्मचारीमैत्री नभएको भन्दै संशोधनको माग राखेर विरोधमा उत्रिएका स्थानीय तहका कर्मचारीले चरणबद्ध आन्दोलन अन्तरगत शुक्रवारदेखि पेन डाउन शुरु गरेका छन् ।

संसदमा पेश हुन लागेको विधेयक स्थानीय तहका कर्मचारीको हकहित विपरित भएकोले संशोधन हुनुपर्ने माग राखेर असोज १६ गते देशभरका पालिका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई मागपत्र बुझाएका थिए ।

कर्मचारीहरुले केन्द्रीय सर्कुलर अनुसार यसअघि तीन दिनसम्म हातमा कालोपट्टी बाँधेर काम गरेका थिए । शुक्रवारबाट देशभर अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने उनीहरुको निर्णय छ ।

संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने स्थानीय तहका अन्तरगत हल्दिबारि गाउँपालिका संघर्ष समितिका संयोजक शिवहरि खड्काले जानकारी दिएका छन् ।