झापा।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले शनिवार (आज) विश्वासको मत लिने भएको छ । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतका लागि लागि प्रदेश सभामा ४७ मत आवश्यक भएपनि मुख्यमन्त्री कार्कीलाई बहुमत पुर्याउन मुश्किल देखिदै आएको छ । एमालेको उपसभामुखसहित प्रदेश सभामा ४० सिट छ । उपसभामुखले प्रदेश सभा सञ्चालन गर्ने भएकाले ३९ सदस्य मात्र मतदानमा सहभागी हुन पाउनेछन् ।
गठबन्धन दलले यसअघि नै एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । ९३ जना प्रदेश सभा सदस्यमध्ये एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपा ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ ।
विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।