झापा । 

नेपाली चलचित्र ‘वानर सेना’ आजदेखी देशभरका ४२ वटा सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘वानर सेना’ काठमाडौंका १९ वटा, पोखराका २ वटा, तिवनका २ वटा, दाङका २ वटा, बुटवलका २ वटा, झापाका ४ वटा इटहरी, धरान, इनरुवालगायतका स्थानमा प्रर्दशनमा आउन लागेको चलचित्रका निर्माता युवराज गिरीले जानकारी दिएका छन् । युवाराजका अनुसार झापाको बिर्तामोड, भद्रपुर, राजगढ र दमकका सिनेमा हलमा प्रदर्शन हुँदैछ । 

चलचित्र ‘वानर सेना’को केहीदिन अघि झापाको बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा प्रिमियर शो प्रदर्शन गरिएको थियो । अर्पण गिरी (अरमान जंग) को डेव्यू निर्देशनमा प्रदर्शनमा आएको फिल्म गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयम् निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् । फिल्ममा बिनोद सापकोटाको छायांकन, रवि केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन रहेको छ । 

फिल्ममा अर्पण गिरी (अरमान जङ्ग), आरजु प्रसाईँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहू, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बाँस्कोटाले अभिनय गरेका छन् । अर्पण गिरीले निर्देशन गरेको चलचित्र वानर सेनामा रामायण बेसमा आधारित बनेको निर्देशक गिरीले बताएका छन् । 

रामायणमा हालसम्म नखुलाइएका विषयलाई कथा वस्तु बनाएर तयार परिएको यो चलचित्र रामायण बेसमा आधारित मोडर्न चलचित्र भएको उनको भनाई छ । चलचित्र निर्माणकर्ता युवराज निर्देशक अर्पणका बुवा हुन् । यता प्रोडक्सन म्यानेजरका रुपमा युवराजकी छोरी अंशिका गिरी रहेकी छिन् । 

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, दशनामी समाज कोशी प्रदेश अध्यक्ष प्रकाश पुरी, पूर्वअध्यक्ष चन्द्र गिरीलगायत बिर्तामोडमा प्रिमियर शो हेरेर चलचित्र एकदमै राम्रो भएको बताएका थिए ।  

चलचित्र ‘वानर सेना’को टिजरसहित :