बिर्तामोड । 

नेकपा (माओवादी केन्द्र), नेकपा समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीको समाजवादी मोर्चाले झापामा  असोज २४ गते बिर्तामोडमा सन्देशसभा गर्ने भएको छ । सन्देशसभामा समाजवादी मोर्चा कसरी अगाडी बढ्दैछ भन्ने जानकारी गराउनुका साथै झापाको मोर्चा घोषणा गर्ने बिहीवार बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी गराइएको हो । 

प्रतिगमनको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओली र पुनर्उत्थानवादी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको जिल्लाबाट समाजवादी मोर्चाले मुलुकलाई समृद्ध र स्वावलम्बी जनता बनाउन चाहेको सन्देश दिन शुरु गरिने जनाइएको छ । 

नेत्र विक्रम चन्द ‘विप्लव’ प्रमुख अतिथि रहने सन्देशसभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनाल (बलदेव), समाजवादीका केन्द्रीय सचिव तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राई र जनता समाजवादी पार्टीका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले समेत सम्बोधन गर्ने कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा चार वटै पार्टीका अगुवा कार्यकर्ताहरुको उपस्थित हुने नेताहरुले बताए । देशभर समाजवादी मोर्चाको पालिकास्तरसम्म समिति गठन गर्ने नीति अनुरुप झापाको पनि समिति गठन भएको छ ।