बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले सुकुम्बासीको समस्या समाधानका लागि उल्लेख्य पहल नगरेको बताइएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मुनाल टोलका सुकुम्बासीहरुले बिर्तामोड नगरपालिकाले आफुहरुको समस्या समाधानमा तत्परता नदेखाएको गुनासो गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने ‘घर घरमा माओवादी, जनजनमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत बिहीबार विहान आयोजना गरेको भेलामा उपस्थितहरुले बिर्तामोड नगरपालिकाले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यमा कुनै अग्रसरता नदेखाएको गुनासो गरेका छन् । झापाकै अन्य पालिकाहरुमा सुकुम्बासीहरुले लालपुर्जा पाइसक्दा पनि बिर्तामोड नगरपालिकाले भुमि आयोगसँग समन्वय गर्न ढिलो गरेको उनीहरुले गुनासो गरे ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री शिवकुमार मण्डलले शोषित, पिडित, उत्पीडित जनताको अधिकार माओवादीले जनयुद्धको बलमा स्थापित गरेको बताए । महिला, किसान, अप्पसंख्यक, नागरिकताविहिनहरुको अधिकार माओवादीका कारण प्राप्त हुँदै गएको उनले बताए । सत्ता परिवर्तनका लागि, जनताको अधिकार स्थापित गर्नको लागि माओवादीले खेलेको भूमिका र माओवादीको एजेण्डामा देश चलेको कुरा जनतालाई बुझाउन नसक्दा माओवादी कमजोर हुनु परेको मण्डलले बताए । उनले बिग्रिएको माओवादी सच्चिन तयार रहेको र जनतासँगको सुमधुर सम्बन्ध पुनः स्थापित गर्न चाहेको भन्दै यतिबेला जनताको घरघरमा गएको बताए ।
नेता मण्डलले कुनै योगदान, एजेण्डा, उद्धेश्य र गन्तव्य नै नभएको नयाँ पार्टीको कुनै भविष्य नभएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक महिना उपप्रधान तथा गृहमन्त्री बन्दापनि भ्रष्टाचारसम्बन्धि कुनै फायल नखोलेको तर नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको दश दिनबाट नै भ्रष्टाचारसम्बन्धि फायल खोलेर कारबाही शुरु गरेको मण्डलले बताए ।
पार्टीका ४ नम्बर वडाध्यक्ष राकेशकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कमाण्ड इञ्चार्ज प्रदेश सदस्य देवकला प्रसाई, सीपी कडरिया, नगर सदस्यहरु रुमा चापागाई, ओमप्रकाश श्रेष्ठ, गोविन्द राजवंशी, पूर्व पिएलएहरु जयसिंह राजवंशी र सुमन शंकर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नगर उपाध्यक्ष कमलप्रसाद कडरियाले सञ्चालन गरेका थिए ।