• रन्जित परियार 

बुट्टाबारी । 

पाउँ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार प्रयोजन प्रवर्द्धन समिति मेनीगर चारआली झापाले १० औं बार्षिकोत्सवका अवसरमा विभिन्न बालगृह तथा असहायहरुलाई सहयोग गरेर मनाएको छ । 

पाउँपाथीभरा मन्दिर एउटा धार्मिक प्रतिष्ठान रहेको र त्यसबाट संकलित रकमहरुबाट दिनदुःखी असहाय बालबालिका तथा बृद्धहरुमा बार्षिकोत्सवका अवसरमा  सहयोग गर्ने निर्णय भएको जनाइएको छ । 

बार्षिकोत्सवका अवसरमा समितिले कनकाई नगरपालिकाका १९ जना असहाय बृद्वहरुलाई खाद्यान्न, बिर्तामोड बृद्वाआस्रमलाई नगद १० हजार, बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृह अर्जुनधारालाई छ थान ब्ल्याकेट, समाज सुधारक एवम् अपांग सरोकार केन्द्र इटाभटालाई १० हजार र सुबोध साधाना केन्द्र बालगृह धुलाबारीलाई नगद १० हजार रुपैयाँ प्रदान गरेको सस्थापक हरिचरण बानियाले बताए। 

धार्मिक संस्था पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार प्रयोजन प्रवर्द्धन समितिले भक्तजनहरुबाट उठेको तथा संकलन भएको रकम संस्था बिकास र समाजमा रहेको दिन दुःखीहरुमा खाद्यान्न, न्यानो कपडा र नगद प्रदान गरि सामाजिक उत्तरदायित्व पूरा गरेको हो । कार्यक्रम सुबोध साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलिया, बन्दी सहायता नेपाल झापा शाखाका अध्यक्ष जगतबहादुर मगर, समाज सुधारक एवम् अपांग सरोकार केन्द्र इटाभटाका अध्यक्ष धर्मराज घिमिरेलगायतले सस्थालाई धन्यवादसहित १० औं बार्षिकोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष यामनाथ बराल, पुष्पराज कार्की, सह–सचिव अर्जुन थेबे, पुष्प वखिम, बिदुरप्रसाद शिवाकोटी, प्रेमसागर घिमिरे, तेजकुमारी भट्टराईलगायतको उपस्थिति रहेको थियो ।  संस्थाका अध्यक्ष तीलकप्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब नवराज भट्टराईले गरेका थिए ।