अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाले भूमिहिन तथा अव्यबस्थित बसोवास गरिरहेकालाई जग्गा धनिपुर्जा वितरण गरेको छ । नगरले बुधवार (आज) अर्जुनधारा वडा न ११ का ६ जनालाई धनिपूर्जा वितरण गरेको हो । 

सभामुख देवराज घिमिरेको उपस्थितिमा नगरपालिकाले धनीपुर्जा वितरण गरेको हो । नगरले पहिलो पटक ६ जना भूमिहिनलाई धनीपुर्जा वितरण गरेर भूमि समस्या समाधान गर्ने कामको शुरुवात गरेका नगर प्रमुख बलदेबसिंह गोम्देन तामाङले जानकारी दिए । 

उनले आफ्नै कार्यकालमा भूमिहिन तथा अव्यबस्थित बसोवासका समस्या समाधान गर्ने योजना सफल बनाउन प्रतिबद्व रहेका बताए । 

अर्जुनधारा नगरपालिकामा ९ हजार भन्दाबढी निवेदन परेको छ। नगरपालिकाले २०७१ जनालाई धनिपुर्जा  वितरणका लागि निस्सा प्रदान गरिसकेको छ । वडा न १, ५ र ११ मा निस्सा वितरण गरिसकेको नगरले जनाएको छ । 

त्यसैगरी वडा न २, ६, ७ र ८ मा निस्सा वितरणको अन्तिम तयारी गरिएको प्रमुख गोम्देनले जानकारी दिए । नगरमा अब्यवस्थित बसोवासीका रुपमा ७ हजार ६००, भूमिहिन दलित २०० र भूमिहिन सुकुम्बासी १ हजार २०० ले धनिपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् ।

नगर प्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत नगर उपप्रमुख खड्गमाया पराजुलीले गरेको कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाका अध्यक्ष तिलकसिं पाण्डे, आयोगका सदस्य ताराप्रसाद उपाध्याय, नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, पूर्व प्रदेश सभा सदस्य बिर्खबहादुर प्रधान, वडाका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।