झापा । 

नेकपा (एकीकृत समाजवादी) ले १५ दिने मेची–महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ । पार्टीले आगामी असोज १४ गतेदेखि २८ गतेसम्म राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको हो । आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष्य तथा पार्टी संगठन विस्तार योजनाका साथ मेची महाकाली जागरण यात्रा शुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेललेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय जागरण यात्राका बिषयमा जानकारी दिइएको हो । अध्यक्ष पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी समाजवादीले गएको निर्वाचनमा जनताको विश्वास तथा मत जित्न नसकेको स्मरण गर्दै आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाएर जनताको विश्वास जित्ने र पार्टीको औचित्य समेत पुष्टि गर्ने दावी गरेका छन्।

उनले नेकपा समाजवादी पार्टीनै भरपर्दो विकल्प भएको दावी गरे । लाखौं जनतालाई एकीकृत समाजवादी पार्टीनै जनताको पार्टी भएको विश्वास दिलाउन र आगामी माघमा हुने राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन अभियानले फाइदा पुग्ने उनको भनाइ थियो ।

बेरोजगारी समस्या समाधान गर्ने कृषि क्रान्ति सफल पार्न, युवाहरुको विदेश पलायनलाई रोकेर देशमै रोगजारी सिर्जना गर्ने तथा चुनावी प्रणलीमा सुधार गर्ने जस्ता महत्वपूर्ण एजेण्डा लिएर पार्टी जनतामाझ जाने पार्टीले उद्घोष गरेको छ ।

अभियानमा केन्द्रीय अध्यक्ष माधबकुमार नेपाल, सम्मनित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाललगायतका सयभन्दा बढी नेता सहभागी बन्ने पार्टीका केन्द्रिय पार्सद शंकर थापाले जानकारी दिए । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनको केन्द्रिय उपाध्यक्ष तीर्थ सिक्देलले गरेका थिए ।