बिराटनगर ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण तथा भ्रमणको क्रममा कानूनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै जनमैत्री सेवा प्रवाह गर्न निरन्तर रुपमा लागि पर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा उनले नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यका लाग्न आग्रह गरेका हुन् । 

उनले सवै प्रहरी कर्मचारीहरुले आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पूर्वक आ–आफ्नो पदिय दायित्व निर्वाह गर्नु पर्ने बताए। उनले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिँदो परिवेश तथा चुनौतीलाई सामना गर्दै आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भएर निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नु पर्ने, आफुमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीवृद्धि हुने हुँदा सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताए।  

चोरी पैठारी लगायत अन्य अपराधिक गतिविधिलाई नियन्त्रण गर्न थप क्रियाशील हुनु पर्ने तथा भीड नियन्त्रणमा संवेदनशील भएर बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्न समेत उनले निर्देशन दिए। उक्त कार्यक्रममा संगठन प्रमुख  कुँवरलाई प्रदेश प्रहरी प्रमुख बास्तोलाले सम्मान गरेका थिए । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण तथा भ्रमणको आएका उनलाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोला तथा प्रहरी अधिकृत सहितको प्रहरी टोलीले स्वागत गरेका थिए। उनले कार्यालय, सम्पूर्ण शाखाहरुका साथै भिडियो स्टुडियो रुम, परिचालन कक्ष तथा सिसि टिभि मनिटरिङरुमको समेत निरीक्षण गरेका थिए । उनले त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीको समेत निरीक्षण तथा भ्रमण गरेका थिए। सोही क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरी परिसरमा बृक्षारोपन समेत गरिएको थियो ।