बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक भवनमा प्रयोग भएको कमसल इटा उद्योगमै फिर्ता पठाइएको छ । 

असोज ३ गते नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित जनप्रतिनिधि तथा कर्मचारीले गरेको अनुगमनमा ३ नम्बर ईटा प्रयोग भएको फेला परेको थियो ।

 नगर प्रमुख प्रसाईले कमसल इटा प्रयोग गरि बनाईएको वाल तत्काल भत्काउन र ईटा फिर्ता पठाउन निर्देशन दिएका थिए । सोहिअनुरुप वाल त्यसैदिन भत्काईएको र शनिबार र आइतबार गरि सात ट्याक्टर ईटा नमुना ईटा उद्योग हल्दिबारी १ मा फिर्ता पठाईएको ठेकेदार कम्पनीका उमेश श्रेष्ठले जानकारी दिए । 

कमसल ईटा प्रयोग भएको पाइएपछि वडा नम्बर ३ का वडा सदस्य हरि बांस्कोटाको नेतृत्वमा १५ सदस्यीय अनुगमन समिति निर्माण गरिएको छ । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरु रहेको उक्त समितिले कडाईको साथ विहान बेलुकी अनुगमन गरिरहेको वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याटसहित) को लागतमा शिवालय आरएस जेभीले भवन ठेक्का लिएर निर्माण गरिरहेको छ।