विर्तामोड । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कोशी प्रदेशमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका छन्  । नेपाली कांग्रेस झापा क्षेत्र नं–२, प्रदेश क र ख को संयुक्त सम्मेलनलाई शनिवार  विर्तामोडस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा त्यस्तो बताएका हुन् । 

नेता कार्कीले वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने आधार नदेखिएको बताउँदै संविधानको धारा–१६८ (५) बमोजिम गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । 

‘कोशी प्रदेशलाई मध्यावधीमा लानु संविधानको मर्म र भावना विपरित हुन्छ’–नेता कार्कीले भने ‘अहिले अल्पमतले सरकार बनाएको तर बहुमतले सरकार चलाउन नपाइरहेको अवस्था छ । यो लामो समय रहँदैन ।’ कांग्रेस कमजोर भए मुलुकको लोकतन्त्र र राष्ट्रियता कमजोर हुने बताउँदै नेता कार्कीले कार्यकर्ताबीचमा बृहत्तर एकता कायम गर्दै पार्टीलाई मजबुद बनाउन कार्यकर्तालाई आह्वान पनि गरे ।

पर्यटन, जलस्रोत, कृषि र युवा जनशक्ति मुलुकको समृद्धिको आधार भएको बताउँदै नेता कार्कीले युवा जनशक्ति परिचालन गरेर आगामी १० बर्षभित्रमा एसियाकै धनी मुलुक बनाउनु पर्नेमा जोड दिए ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता कार्कीले नेपालको अर्थतन्त्रले लय फेरिरहेको बताउँदै १० महिनासम्म धान्न सक्ने विदेशी मुद्रा सञ्चिती रहेको दावी गरे । मुलुकमा राजनीतिक परिवर्तन भइसकेको र अब सामाजिक, सांस्कृतिक, आर्थिक समृद्धिका लागि दलहरुको ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिएका नेता कार्कीले मुलुकको रुपान्तरण कांग्रेसकै नेतृत्वमा मात्रै सम्भव हुने दावी गरे ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले सरकार स्थायी पद नभएको बताउदै संविधान बमोजिम नै फेरि पनि मुख्यमन्त्री बन्ने अवसर आउने बताउँदै गर्व गर्न कार्यकर्तालाई आव्हान गरे । 

नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले झापाका सवै वडा १४ पालिका, ८ वटा प्रदेशसभा क्षेत्र, ४ वटा क्षेत्रको सम्मेलन सकिएको जानकारी दिदै असोज १५ भित्रमा बाँकी रहेका तहगत सम्मेलन सकेर जिल्ला सम्मेलनको तयारी भइरहेको  जानकारी दिएका थिए ।