चन्द्रगढी ।
झापाको चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १० औं साधरण सभा शनिबार(आज) सम्पन्न भएको छ । प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यमा भद्रपुर ९ स्थित मुना सामुदायिक भवनमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि तामाङ, भद्रपुर नगरपालिकाका उप–प्रमुख राधा कार्की, झापा जिल्ला खानेपानी उपभोक्ता महासंघका सचिव बाबुराम कार्की, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, समितिका पूर्व अध्यक्ष बिष्णुप्रसाद शिवाकोटी र नेकपा माओबादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभन्डारीले स्वच्छ पिउने पानी सहज रुपमा प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकोले यस क्षेत्रमा रहेका समस्या समाधान गर्न सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको कुरामा एकमत जाहेर गरेका थिए । कार्यक्रममा समितिकी पूर्व उपाध्यक्ष पार्वती मल्ललाई सम्मान गरिएको थियो ।
साधरण सभाको बन्द सत्रले समितिका कोषाध्यक्ष निर्मला भन्डारी चुडालले पदबाट दिएको राजिनामा अनुमोदन गरेको छ भने रिक्त उक्त पदमा यशोदा नेउपाने कार्कीलाई सर्वसम्मत चयन गरेको समिति अध्यक्ष चुडामणि मैनालीले बताए ।
चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष चुडामणि मैनालीको अध्यक्षता, सचिव दुर्योधन कार्कीको सन्चालन र उपाध्यक्ष गोपाल बहादुर कार्कीको स्वागत रहेको कार्यक्रममा समितिको बार्षिक प्रगति प्रतिबेदनका साथै लेखा प्रतिबेदन प्रस्तुत गरिएको थियो ।