झापा । 

आज कोशी, मधेस र लुम्म्बिनी प्रदेशमा भारी वर्षा र तराई भेगमा हावाहुरीको सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षा र  लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकोले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हावाहुरी र वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिबाट बच्नका लागि सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।