हल्दिबारी । 

झापाको हल्दीवारी गाउँपालिकाले चौबिसै घण्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पास गरेको एम्बुलेन्स सञ्चालन कार्यबिधी अनुसार बिरामीहरुलाई निःशुल्क तथा छुट सेवा दिने उदेश्यले बिहीबारबाट चौबिसै घण्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।  

पालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा अन्तरगत गाउँपालिका भित्र बसोबास गर्ने गर्भवती महिला तथा प्रसुती सेवाको लागि आकस्मिक रुपमा पालिकाभित्र रहेको जलथल बर्थिङ सेन्टरमा जाँदा र फर्कदा निःशुल्क सेवा, गर्भवती जाँच प्रोटोकल अनुसार पूरा गरेको कार्डको आधारमा प्रसुती सेवाको लागि जिल्ला भित्रका अस्पताल÷स्वास्थ्य संस्था जाँदा तोकिएको शुल्कमा ५० प्रतिशत छुट दिइने छ । 

मृगौला रोगको कारण डायलाइसिस गरिरहेका बिपन्न नागरिकका लागि महिनामा एक पटकसम्म सम्बन्धित वडाको सिफारिसमा जिल्ला भित्र निःशुल्क सेवा, क्यान्सर रोगको उपचाररत बिपन्न नागरिकको लागि बर्षमा दुई पटकसम्म जिल्ला भित्र निःशुल्क सेवा, ८० बर्ष उमेर पूरा भएका जेष्ठ नागरिक हल्दिबारीबासीलाई गाउँपालिका भित्रको अस्पताल वा स्वास्थ्य संस्थासम्मका लागि एकतर्फी निःशुल्क सेवा र जिल्ला बाहिर सरकारी अस्पताल लैजानु परेमा एकतर्फी भाडामा ५० प्रतिशत  छुट गरिने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले जानकारी दिए । 

अन्यको हकमा सेवा शुल्क सम्बन्धी ब्यवस्था गाउँपालिका क्षेत्र भित्रका अस्पताल वा स्वास्थ्य सस्थाको लागि एकतर्फी ५ सय रुपैयाँ, झापा जिल्ला भित्रप्रति किमि २५ रुपैयाँ र  जिल्ला बाहिरका लागिप्रति  कि मि २५ रुपैयाँ भाडादर कायम गरिएको छ ।  अन्य स्थानको भाडादरको हकमा समितिले निर्धारण गरेको भाडा दररेट वा निर्धारण नगरेसम्मको लागि जिल्ला दररेट कायम रहने पालिकाले जनाएको छ । 

पालिकाले चौबिसै घण्टा एम्बुलेन्स सेवा सञ्चालन गरेको बताउँदै पालिकाका अध्यक्ष रबिन्दप्रसाद्र लिङ्देनले  अव पालिका भित्रका विपन्न नागरिक एम्बुलेन्स सेवाबाट बन्चित नहुने जानकारी दिए । एम्बुलेन्स सेवा सञ्चालन भएकै दिन बिहीबार हल्दिबारी–१ गोलधापकी एक महिलालाई सेवा दिइसकेको पालिकाले जनाएको छ ।