मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकामा करिब साढे तीन करोडको लागतमा महिलाहरूका लागि शीपमूलक तालिम केन्द्र सञ्चालनमा आउने भएको छ । नगरपालिकाले नगरको गौरवको योजना अन्तरर्गत महिलालाई लक्षित गरि ‘महिला सीप विकास केन्द्र’ सञ्चालनको अन्तिम तयारीमा रहेको जनाएको हो ।

नगरपालिकाले महिलाहरूलाई लक्षित गरी वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दुरीमा सुविधा सम्पन्न तीन तले भवन निर्माण गरेको छ । उक्त भवनमा अनभिज्ञ, विपन्न, विभेदित ग्रामीण महिलाहरूको विशेष अवस्थालाई ध्यानमा राखेर विकासका आम अवसरमा पहँच स्थापना गर्ने उद्देश्यका साथ उनीहरुलाई सीप सिकाउँदै दक्ष बनाउँदैं आत्मनिर्भर बनाउने उदेश्यले शीप विकास केन्द्र सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

महिलाहरुको लागि शीप सिकेर आत्मनिर्भर बन्ने एउटा राम्रो अवसर शीप विकास केन्द्र सञ्चालनले गरेको स्थानीय गीता खड्का र लीला कट्टेलले बताएका छन् । 

नगरपालिकाले कार्यविधि नै बनाएर महिला शीप विकास केन्द्र सञ्चालन गर्न लागेको छ । केन्द्रमा जेष्ठ नागरिक महिलाहरुलाई पातको दुना टपरी, लाख बात्ती, लगायतका विभिन्न सीपमूलक तालिम सिकाउने तथा त्यसको बिक्रि वितरण गर्ने, त्यस्तै महिलाहरुको लागि कम्यूटर तालिम, आय आर्जनका विभिन्न सिपमुलक तालिम मायोको चिनो, सजावटका सामान, ब्याग, फुलदानी, लगायतका तालिम प्रदान गर्दै महिलाहरू आत्मानिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

खास गरी महिलाहरुको जीवनमा परिवर्तन ल्याउन महिलाको हातमा शीप र आर्थिक स्रोत अपरिहार्य हुन्छ भन्ने मनन गरी नगरपालिकाले यस कार्यक्रमलाई अगाडी बढाएको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताइन् । उनले अहिले स्थानीय सरकारको तर्फबाट सुरुवात गरिएको भएता पनि यसलाई अझ प्रभावकारी बनाएर अगाडी बढाउन प्रदेश र संघिय सरकारको पनि साथ र सहयोग लिने बताइन् । उनले धेरै भन्दा धेरै महिलाहरुलाई यस केन्द्र मार्फत लावन्भीत गराउने उदेश्य राखिएको र सोहि अनुरुप आफुहरु लागि परिरहेको बताएकी छिन् ।