बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा ठेकेदारले कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काईएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको टोलीले बुधवार (आज) गरेको अनुगमनका क्रममा कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काइएको हो । कमसल इटा प्रयोग भएको वाल तुरुन्तै भत्काएर गुणस्तरिय इटा प्रयोग गरि नयाँ वाल निर्माण गर्न नगरप्रमुख प्रसाईले निर्देशन दिएकी छिन् ।

१ नम्बर इटा प्रयोग गर्नु पर्नेमा ठेकेदारले दोश्रो तलाको वालमा दुईदेखि चार नम्बर सम्मको इटा प्रयोग गरेको पाइएपछि भत्काउन बाध्य भएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । उनले अबपनि लापर्वाही ढंगले काम अघि बढाए ठेकेदारलाई कानून अनुसार हदैसम्मको कार्वाही गर्ने चेतावनी दिए ।

विल्डिङ्गमा यस अघि प्रयोग गरिएका इटा एक नम्बर नै भएको पाइएपनि पछिल्लो पटक खरिद गरेको इटा गुणस्तरहिन भेटीएको वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । उनले भोली देखि नै वडाको तर्फबाट पनि समिति बनाएर हरेक दिन अनुगमन तथा निगरानी बढाउने बताएका छन् ।

ठेकेदार कम्पनीले ४ ट्याक्टर इटा कमसल आएको स्विकार गरेको छ । कम्पनीका सुपर भाइजर सुदिप चौलागाईले नगरपालिकाको निर्देशन अनुसार कमसल इटा फिर्ता गरि गुणस्तरीय इटा मगाएर प्रयोग गर्ने बताए ।

सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा विल्डिङ्ग निर्माण भईरहेको छ । सम्झौता अनुसार २०८० असोज ६ गते योजना सम्पन्न गर्नु पर्ने छ । ठेकेदार कम्पनीले हाल सम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

अनुगमनमा वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, वडा नम्बर ७का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, वडा ३ का वडा सदस्य हरि बास्कोटा र लक्ष्मी रोक्काको पनि सहभागिता रहेको थियो ।