बिर्तामोड । 

साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र राष्ट्रिय बाल दिवसको अवसर पारेर झापाका विभिन्न पाँच जना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गर्ने भएको छ । 

साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने स्रष्टा सर्जक हरुलाई राष्ट्रिय बालदिवसको अवसरमा भदौ २९ गते आयोजना हुने सांगीतिक काव्यमा दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो ।  साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीको उद्देश्यमा उल्लेखनीय योगदान दिएवापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको बताए ।

प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईसहित स्रष्टाहरू डिल्लीराज नेपाल, पून्यप्रसाद खरेल, जयनारायण ढुङ्गाना र हरिनारायण भट्टराईलाई सम्मान प्रदान गरिने छ ‌। यसअघि अघिल्ला मासिक सांगीतिक काव्य सभाका अवसरमा साहित्य चौतारीले अग्रज स्रष्टाहरू विजय खरेल, लीला उदासी, भवानी क्षेत्री र हरिचरण बानियाँलाई दीर्घ साधना सम्मान प्रदान गरिसकेको छ । 

गतसाता मात्रै साहित्य चौतारीको टोलीले इलामस्थित निजी निवासमा पुगेर गायक तथा संगीतकार कुबेर राईलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ‌ । अस्वस्थ भएर घरमा स्वास्थ्य लाभ गरिरहेका बेला आर्थिक सहयोगसहित राईलाई उक्त सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक श्रेष्ठले बताएका छन्। 

त्यस्तै  साहित्य चौतारीले बालदिवसको अवसरमा बाल प्रतिभाबीच पनि प्रतिस्पर्धा गराउने भएको छ । अघिल्ला वर्षहरुमा जस्तै कविता, गीत र नृत्य विधामा चौतारीले बालप्रतिभा बीच प्रतिस्पर्धा गराउन लागेको हो ‌। प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कारसहित सम्मान गरिनेछ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा बाल प्रतिभा दिया अधिकारी रहनेछिन् । अघिल्लो वर्ष रियाज रिजाल प्रमुख अतिथि थिए भने अघिल्लो वर्ष अनुजा कडरिया प्रमुख अतिथि ‌रहेकी थिइन् ।

हरेक वर्ष बालप्रतिभा बीच भएको प्रतिस्पर्धामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने उत्कृष्ट प्रतिभालाई आगामी वर्षको कार्यक्रमका लागि साहित्य चौतारीले प्रमुख अतिथि बनाउँदै आएको छ । कालजयी अमर सर्जक फत्तेमान राजभण्डारीलाई साहित्य चौतारीले मासिक सांगीतिक काव्य सभाका अवसरमा सम्झिने भएको छ । १० औं स्मृति दिवसको अवसरमा उनका कालजयी सिर्जनाहरु सांगीतिक काव्य सभामा गुञ्जिने भएका हुन् । चौतारीले २०६२ सालमा फत्तेमानलाई प्रमुख अतिथि बनाएको थियो । 

साहित्य चौतारीले त्रिकोणात्मक यी तीनवटै कार्यक्रमहरूमा सहभागिता जनाउन चौतारीका स्रष्टा सर्जक, शुभेच्छुक र शुभचिन्तकलाई सार्वजनिक रुपमा अपिल पनि गरेको छ ।