इलाम ।
इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनको निधन प्रति दुःख ब्यक्त गर्दै रोङ गाउँपालिकाले आज शोक विदा दिएको छ ।
रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) ले नेम्वाङको निधनले सिंगो इलाम जिल्ला स्तब्ध बनेको बताए। उनले नेम्वाङको उच्च सम्मान गर्दै एक दिन शोक विदा दिएको जानकारी दिए।
विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। उनि हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाउदै आएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । उनि चारपटक सभामुख हुँदा सधैँ सर्वसम्मत नै बनेका थिए ।