भद्रपुर । 

झापाको भद्रपुर नगरपालिकाको वडा नं ५ स्थित मेची आँखा उपचार केन्द्र परिसरमा तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविर शुरु भएको छ ।

केन्द्रमा नवनिर्मित अन्तरंग सेवा प्रारम्भको अवसर पारेर रोटरी क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर र इनरह्वील क्लव अफ भद्रपुरको संयुक्त व्यवस्थापनमा आइतबारदेखि शिविर शुरु भएको हो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले अन्तरङग विभाग भवन उद्घाटनसँगै आँखा शिविरको पनि उद्घाटन गरेका छन् ।

आँखाका विरामीहरुको संख्या बढ्दै गइरहे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरुलाई लक्षित गर्दै निःशुल्क शिविर आयोजना गरिएको शिविरका संयोजक एवम् रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।

शिविरमा मेची आँखा अस्पतालका विशेषज्ञहरुले सेवा दिइरहेको र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई केन्द्रमै राखेर शल्यक्रिया गरिने बताइएको छ । 

तीन दिनमा करिब एकहजारजनाको आँखा परीक्षण र करिब तीन सय जनाको शल्यक्रिया गरिने अनुमान गरिएको शिविर मंगलबारसम्म सञ्चालन हुने एनरह्वील क्लव भद्रपुरकी अध्यक्ष निर्मला निरौला खड्काले जानकारी दिइन् ।