भद्रपुर । 

झापाको भद्रपुर नगरपालिकाको वडा नं ५ मा दानवीर दाता सत्यनारायण सरियाले दान दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार हुँदै गएको छ ।

उपचार सेवा लिन आउने सेवाग्रहीको संख्या दैनिक बढ्न थालेपछि मेची आँखा अस्पतालले आफ्नो मातहतमा रहेको मेची आँखा उपचार केन्द्रको पनि सेवा विस्तार गरेको हो ।

यसैक्रममा अस्पतालले मेची आँखा उपचार केन्द्र परिसरमा भवन निर्माण गरी आइतबारदेखि अन्तरङ्ग विभाग सञ्चालनमा ल्याएको छ ।

शल्यक्रिया गर्नुपर्ने विरामीको संख्या बढ्दै गएको र शल्यक्रियापश्चात विरामीलाई अन्यत्र राख्नुपर्ने बाध्यताको समाधानका लागि करिब एक करोड रुपैयाँ लागतमा भवन निर्माण गरी १५ शंय्याको अन्तरङ्ग विभाग सञ्चालनमा ल्याइएको भवन निर्माण समितिका संयोजक एवम् मेची आँखा अस्पताल संघका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारीले जानकारी दिए ।

आइतबार केन्द्र पसिरमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सो अन्तरङ्ग विभागको उद्घाटन गरेका छन् ।