मेचीनगर ।
नेपाली कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले चुनावी गठबन्धनको शृङ्खला सदाका लागि समाप्त भएको बताएकी छन् । चुनावी गठबन्धन गरेर पार्टीले गम्भीर गल्ती गरेको र उप्रान्त चुनाव अघि गठबन्धन गर्न नहुने स्वर पार्टी भित्र चर्को बनिरहेको बेला सह–महामन्त्री उपाध्यायले यस्तो सार्वजनिक अभिव्यक्ति दिएकी हुन् ।
‘चुनावी गठबन्धन अब हुँदैन’ शुक्रबार नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश क्षेत्र ‘ख’ सम्मेलनलाई धाइजनमा सम्बोधन गर्दै उनले भनिन् ‘अबको मिसन कांग्रे्रेसलाई बहुमतमा पु¥याउने हो, शृङ्खला नै समाप्त भएको चुनावी गठबन्धन असान्दर्भिक ठहर भइसक्यो, कुरै नगरौँ ।’
कांग्रेसले चुनावमा हात दिएकै कारण माओवादीको साख जोगिएको उनको निष्कर्ष थियो । उनले प्रश्न गरिन् ‘कांग्रेसले दर्बिलो साथ दिएर नसमातेको भए अहिले माओवादी कहाँ पुग्थ्यो ?’ कार्यकर्ताको निरासालाई आफूले नजिकबाट नियाली रहेको उल्लेख गरेकी उनले नयाँ पार्टीसँग आत्तिनु पर्ने आवश्यकता नै नरहेको स्पष्ट पारिन् । सह–महामन्त्री उपाध्यायले आफूले आफैँलाई सक्ने काम बन्द गर्न नेताकार्यकर्तालाई सुझाइन् ।
‘कांग्रेसलाई दह्रो बनाउन हामी आफैँ सच्चिनुको विकल्प छैन’ उनले भनिन । उनले कांग्रेसलाई चाहेर पनि अरुले कमजोर बनाउन नसक्ने दाबी गरिन् । उनले केन्द्रीय समितिको बैठकमा कसैलाई निलम्बन गर्ने प्रस्ताव नआएको उनले स्पष्ट पारिन् ।
वडा समितिलाई पार्टीको मुहान र केन्द्रलाई समुद्रको संज्ञा दिएकी उनले वडा नेतृत्व सफा भए पार्टी नेतृत्व हरदम सफा हुने घुमाउरो तरिकाले तर्क गरिन् ।
झापा क्षेत्र नम्बर–१ प्रदेश क्षेत्र ख सभापति सन्तोष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सुशीला ढकाल, गोमा भट्टराई, कोशी प्रदेश सदस्य विमल आचार्य, कांग्रेस झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, महाधिवेशन प्रतिनिधि राम कट्टेल र प्रेम सम्बाहाम्फेले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा उपसभापति मोहन लिम्बुले स्वागत र सञ्चालन सचिव प्रमोद खतिवडा गरेका थिए ।


















