दुधे । 

झापाको शिवसताक्षीमा महोत्सवको आयोजना हुने भएको छ । सतासीधाम जेसीजको आयोजनामा भदौ २५ गतेदेखि असोज १० गतेसम्म १५ दिवसीय सतासीधाम जेसीज तीज महोत्सव २०८० आयोजना हुने आयोजक संस्थाकी अध्यक्ष निर्मला प्रधानले बताइन् ।

महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट स्वीकृति प्राप्त भएको सतासीधाम जेसिजले जनाएको छ । हरितालिका तीजको अवसर पारेर सतासीधाम जेसीजले प्रथम सतासीधाम जेसिज हरितालिका तीज सांस्कृतिक तथा सांगीतिक महोत्सव आयोजना गर्ने भएको हो ।

महोत्सवको उदेश्य र तयारीको विषयमा आयोजकले शनिबार दुधेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिने भएको छ । संस्कृति संरक्षणसँगै शिवसताक्षी नगरको आर्थिक विकासको लागि महोत्सव कोसेढुङ्गो सावित हुने आयोजक संस्थाका संचार संयोजक कुसल नेपालले बताएका छन् । महोत्सव दुइ सिफ्टमा दिउँसो र अपरान्ह पछि पनि संचालन हुनेछ । मेलामा मनोरञ्जनका लागि खेल तमासा पनि रहने छन् ।

महोत्सवले शिवसताक्षी नगरको पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याउनेछ । महोत्सवमा सहभागी हुन आउनेले नगरका सताक्षीधाम, दोमुखा, चिल्लागढ, बौद्ध गुम्बा, किरात माङहिम लगायतका धार्मिक तथा पर्यटन स्थलको भ्रमण गर्ने पनि आयोजक संस्थाले अपेक्षा लिएको छ । शिवसताक्षी भित्र र वाहिर गरेर दिनहुँ कम्तिमा २ हजार मानिसले महोत्सवको अवलोकन र मनोरञ्जन गर्ने लक्ष राखिएको छ । सल्लाहकार समितिका सदस्य दुर्गा नेम्वाङका अनुसार दुधेमा चार दिन पछि उद्घाटन हुने महोत्सव ऐतिहासिक हुनेछ । उनले महोत्सव सफल बनाउन सवै संग अनुरोध गरेका छन् ।

दुधे बजारको पश्चिम बस स्टेण्ड उत्तरको खाली जग्गा क्षेत्रमा महोत्सव आयोजना हुने बताइएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर ले भव्य समारोहकाबीच महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाकी अध्यक्ष प्रधानले बताइन् ।

स्थानीय स्तरका प्रतिभा पहिचान र स्थानीय उत्पादनको बजारीकरण गरी ग्रामीण क्षेत्रको उत्पादनलाई राष्ट्रिय स्तरसम्म चिनाउने महोत्सवको मुख्य लक्ष्य रहेको छ । महोत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सस्कृती र खेलकुदको विकासमा योगदान दिने पनि बताइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । आयोजक संस्थाले महोत्सवबाट मनोरन्जन वापतको सेवा शुल्क निर्धारण गरेको छैन ।