हल्दिबारी ।
श्री श्री १००८ बाबा गणिनाथ समावेशी सेवा समितिद्धारा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर नम्बर–२ र ४ को सिमानामा अवस्थित काजली बजारमा निर्माण भएको श्री श्री १००८ बाबा गणिनाथ मन्दिर र धर्मशालाको उद्घाटनका अवसरमा बिबिध धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भद्रपुरको प्राविधिक सहयोगमा शुक्रवार (आज) भएको रक्तदान कार्यक्रममा २६ जना पुरुष र २ जना महिलाले रक्तदान गरेको श्री श्री १००८ बाबा गणिनाथ समावेशी सेवा समितिका अध्यक्ष नितेश शाहले जानकारी दिए ।
अध्यक्ष शाहका अनुसार रक्तदान गर्ने सम्पूर्णलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । निर्माण सम्पन्न भएको मन्दिर र धर्मशालाको हिजो बिहीवार उद्घाटन गरिएको थियो । भोली शनिवार मन्दिरमा गणिनाथ पूजनोत्सव हुने बताइएको छ ।