झापा ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार विरुद्धको मुद्दाको फैसला बिहीवार (आज) आउने सम्भावना रहेको छ । मुख्यमन्त्री थापा नेतृत्वको सरकार बिरुद्धको सुनवाई आज सुनुवाइ हुँदैछ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी रिटमा मंगलबार जवाफी बहस नसकिएकाले रिट हेर्दा हेर्दैमा राखिएको थियो।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदन उपर मंगलबार विपक्षीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए। विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि आजै फैसला आउने सम्भावना छ।
विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन्।
मत लिँदाको भिडिओ सामग्री समेत इजलासमा देखाइएको थियो। यसअघि सोमबार निवेदकका तर्फबाट भएको कानुन व्यवसायीले सभाको अध्यक्षता गरेका इस्माइल मन्सुरको हैसियत सभामुख सरह रहेकाले मत दिन नपाउने जिकिर गरेका थिए।