बिर्तामोड। 

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले गरिवीको रेखामुनी रहेका जनताको हितलाई ध्यानमा राखेर परिवर्तनको अनुभूति दिलाउनेगरी कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न  पार्टीबाट निर्वाचित जनप्रतिनिधि र तहगत सभापतिहरुसँग अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो निर्देशन दिएका हुन् । 

राज्य ब्यवस्था परिवर्तन अघि र संघीयता कार्यान्वयनपछि जनताले परिवर्तन गर्न सके–नसकेको बारे जनप्रतिनिधिहरुको धारणा एवं आ–आफ्नो वडाको अवस्थाका विषयमा गहन छलफल गरेका सिटौलाले ब्यवस्था परिवर्तनपछि जीवनस्तर सुधारको पूर्ण प्रत्याभूति दिन नसके ब्यवस्थाप्रति नै वितृष्णा पैदा हुने हुँदा जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएका हुन् 

निर्वाचित जनप्रतिनिधिहरुले कतिपय कानुनी जटिलताका कारण राज्य ब्यवस्था परिवर्तनपछि पूर्ण रुपमा जनताको अपेक्षा पूरा गर्न नसकिएको  बताएका थिए ।

राज्य ब्यवस्था परिवर्तनपछि संविधानले सबैको शिक्षा, स्वास्थ, आबासजस्ता अधिकार सुनिश्चित गरेपनी अत्यन्तै न्यून आयश्रोत भएका ब्यक्तिहरुलाइ वडाले निर्णय गरेर केही पनि सहयोग गर्न नसक्ने कानुनी अवस्था रहेको वडाध्यक्षहरुले बताएका हुन् ।

निश्चित सिलिङ बजेटले जनअपेक्षा पूरा गर्न सक्ने अवस्था नरहेकोे बताउदै वडाध्यक्षहरुले प्राप्त बजेटको भरपुर सदुपयोग गरेर जनअपेक्षा पुरा गर्न प्रयासरत रहेको धारणा राखेका थिए ।

अधिकांश जनप्रतिनिधिहरुले नागरिकता वितरणमा कानुनी जटिलता रहेको, पञ्जिकरण दर्ता पद्धतिलाई सुधार गर्नुपर्ने, वडाले सञ्चालन गरेका विकासे योजना कार्यान्वयन एवं बजेट निकासामा अत्यन्तै झण्झटिलो प्रक्रिया रहेको बताउँदै यसको सुधार जरुरी रहेको बताए ।

जटिल स्वास्थ्य अवस्था रहेका तर आर्थिक स्थितिका कारण अस्पतालसम्म पु¥याउनै नसक्ने विरामीका लागि निश्चित रकम आर्थिक सहयोग गर्ने अधिकार वडाध्यक्षलाई कानुनीरुपमै दिइनुपर्ने बताउँदै जनप्रतिनिधिहरुले वडा एवं पालिकामा सञ्चालित स्वास्थ्य संस्थाहरुमा अधिकांश डेट एक्स्पायर भइसकेका तथा अत्यन्तै कम उपभोग्य समय भएका औषधी आउने गरेकाले तथ्याङ्क राख्नेमात्रै काम भइरहेको उनीहरुको गुनासो थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि र शिक्षकका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा मात्रै पढ्न पाउने संवैधानिक ब्यवस्था जरुरी रहेको बताएका जनप्रतिनिधिले राजनीतिक आड र सांगठनिक आडका कारण स्थानीय जनप्रतिनिधिलाई शिक्षकले वेवास्ता गर्ने गरेको गुनासो समेत राखे ।

आवास र भुमिहिन तथा सुकुम्बासीहरुको ब्यवस्थापनमा पर्याप्त बजेट नआउँदा समस्या भएको बताउँदै संविधान प्रदत्त अधिकार कार्यान्वयन गराउन सरकारले प्रसस्त बजेटको ब्यवस्थापन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रममा प्रदेश सांसद लख्खीदेवी गणेश, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशी, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाई, झापा गाउँपालिकाका उपाध्यक्ष अन्जु थपलियालगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेल, भद्रपुर नगर सभापति राम कडेल, कचनकबल गाउँपालिका सभापति तुलाराम अधिकारी, हल्दिबारी गाउँ सभापति गंगाप्रसाद प्रसाई लगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रममा वडाध्यक्षहरु मित्रराज भट्टराई, भीमबहादुर कार्की, रतिया राजवंशी, सखिचन्द्र ठाकुर, नुरज्जमा मिया, लिलाबहादुर कटुवाल, बन्धु कार्की, ललित तामाङ, टेकबहादुर राजवंशी, रोहित प्रसाई, बद्रीनारायण यादव, गिताराज खड्का, गुणराज भट्टराई, टंक शाह, केदार कटुवाल, ग्यास अजमल मिया, भीष्म सिटौला, वडासदस्य टिकादेवी श्रेष्ठ लगायतले मन्तब्य राखेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।

कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रम नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईको सभापतित्व सचिव कृष्ण हुमागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।