चारपाने । 

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले  ५ बर्ष अघिदेखि बाथरोगबाट पीडित बनेका एक ब्यक्तिलाई आर्थिक सहयोग गरेको छ । समाजले सोमबार बिर्तामोड–२ स्थित त्रिशुली चोकका अति विपन्न बाथरोगी ४० बर्षिय दुर्गाप्रसाद गिरीलाई नगद ५ हजार १०० रुपैयाँ सहयोग गरेको हो । 

समाजका नगर अध्यक्ष अर्जुन गिरीसहितको नगर समितिका पदाधिकारी तथा सदस्यहरुको टोलीले दुर्गाप्रसादको घरमै पुगेर उनकी श्रीमती नीरमाया गिरीलाई सहयोग रकम प्रदान गरेको छ । 

भाडाको घरमा बस्दै आएको उक्त परिवार आफन्तको सर–सहयोगबाट जिविको पार्जन गर्दै आएको नीरमायाले बताइन् । ‘कमाउने श्रीमानको यो अवस्था छ’ नीरमायाले भनिन् ‘आउने बाटो केही छैन, दिनभर श्रीमानको रेखदेख गर्नुपर्छ ।’

बैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहँदा दुर्गाप्रसादको आफै खुट्टाको हड्डी चर्किएपछि स्वदेश फर्किएर अप्रेशन गरेका थिए । अप्रेशन गरेको तीन महिनामै पुनः दुबई फर्किएका उनको क्रमश सोही रोग बढेपछि १४ महिनापछि नेपाल फर्किएको दुर्गाप्रसादले जानकारी दिए । 

हाल दुर्गाप्रसाद बैशाखीको भरमा बिस्तारै समातेर मात्र घर भित्र बाहिर गर्न सक्छन् । गिरी दम्पतीका एलकेजीमा अध्ययनरत एक छोरा र कक्षा ७ मा अध्ययनरत एक छोरी छन् । अतिविपन्न गिरी परिवार हाल आफन्तले माया दयाले दिएको सहयोगले जिविकोपार्जन गर्दै आएको छ । भारतको भेलोरमा दुर्गाप्रसादको अप्रेशन गर्नु पर्ने र त्यसका लागि ५ लाख रुपैयाँ लाग्ने बताइएको उनकी श्रीमतीले बताइन् । नेपालका अस्पतालमा परिक्षण गर्दा अप्रेशन गर्न नहुने र औषधि खाएर थेरापी गर्ने सल्लाह दिएपनि अहिलेसम्म श्रीमानको स्वास्थ्यमा कुनै सुधार नआएको उनले बताइन् । 

श्रीमानको उपचारमा आफुसँग भएको १२ लाखवढी रुपैयाँ लागिसकेको भएपनि स्वास्थ्यमा भने सुधार नभएको नीरमायाले बताइन् ।