झापा । 

म्यानपावर ब्यवसायीले म्यानपावर कम्पनीमा भएको क्षति बिर्सिएका छन् । २० बर्षअघि इराकमा १२ नेपालीको सामूहिक हत्यापछि म्यानपावर कम्पनीमा ठूलो क्षति भएको थियो । इराकमा १२ जना नेपालीलाई सामुहिक हत्या भएको खवर नेपालमा फैलिएपछि देशभर सञ्चालित म्यानपावर कम्पनी र त्यसका शाखामा आक्रोशितले ठूलो क्षति पुर्याएका थिए ।  

 तत्कालीन सरकारले गराएको जाँचबुझ प्रतिवेदनअनुसार उक्त क्षतिमा  राजधानीमा सञ्चालित म्यानपावर कम्पनीको १ अर्ब १ करोड ६१ लाख ३७ हजार ६२ रुपैयाँ ३७ पैसा क्षति भएको थियो ।

प्रदर्शनमा उत्रिएकाहरू माथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु र ९९ जना घाइते भएका थिए । त्यसपछि लामो समय वैदेशिक रोजगार व्यवसायीले उक्त क्षतिको क्षतिपूर्ति र व्यवसाय सुरक्षाको माग गर्दै भदौ १६ गतेलाई कालो दिवसका रूपमा स्मरण गरेर विभिन्न कार्यक्रम गर्ने गरेका थिए । 

तर, पछिल्ला केही वर्षयता नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा वैदेशिक रोजगार व्यवसायीले उक्त कालो दिवसका सन्दर्भमा कार्यक्रम गर्न छाडेका छन् ।  २०६१ भदौ ४ गते इराकी आतंककारी समूह अन्सर अल सुन्नाले रोजगारीका लागि इराक गएका १२ जना नेपालीलाई अपहरण गरी नियन्त्रणमा लिएर १२ दिनपछि हत्या गरेको थियो ।

 नयाँ म्यानपावर ब्यवसायीको प्रवेशसँगै  सीमित संख्यामा रहेका पुराना व्यवसायीले पनि उक्त दिनलाई सम्झनु भन्दा स्मृतिबाट मेटाउँदै जानु उचित ठानेको देखिएको छ ।