भद्रपुर । 

नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक तथा स्व प्रमोद तामाङ उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार शुक्रबार एक समारोहका बीच वितरण गरिएको छ ।  संगठन परिसरमा संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा ती पुरस्कार वितरण गरिएको हो ।

गत साउन १५ गते स्व. प्रमोद तामाङको स्मृति दिवसको अवसरमा यस वर्षको उत्कृष्ट १० हजार राशीको उत्कृष्ट राष्ट्रसेवक पुरस्कार कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य र कनकाई नगरपालिकाकी सिनियर अनमि टिकादेबी दवाडी तथा उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार पत्रकार इश्वर अधिकारीलाई प्रदान गर्ने घोषणा गरिएको थियो ।

सो घोषणा अनुसारको पुरस्कार शुक्रबार वितरण गरिएको हो । समारोहका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य छविलाल चूडाल, कोशी प्रदेशका पूर्व सभा सदस्य वसन्त वानियाँ, संगठनका कोशी प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, संगठनका कोशी प्रदेश अध्यक्ष काशीराज पराजुली, नेकपा एमाले झापा जिल्ला उपसचिव असारु राजवंशी, एमाले झापा सचिवालय सदस्य देवराज कार्कीलगायतले पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र हरुतान्तरण गरेका थिए ।

राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि चूडाल, संगठनका कोशी इञ्चार्ज गुरागाईं, कोशी प्रदेश अध्यक्ष पराजुली, कनकाई नगरप्रमुख पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, एमाले झापा सचिवालय सदस्य कार्की, एकीकृत सरकारी कर्मचारी संगठन झापाका अध्यक्ष एवम् लेखक निरोज कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरुले निजामती सेवा ऐन जारी हुन नसक्दा प्रशासनिक सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको बताउँदै संघ र प्रदेशले यथासक्य ऐन जारी गर्नुपर्ने उल्लेख गरेका थिए ।

सोही अवसरमा कनकाई नगरप्रमुख पोखरेलले  स्व. प्रमोद तामाङ स्मृति अक्षय कोष बृद्धिका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम रु. ३५ हजार सहयोग गर्ने घोषणा गरेका थिए ।