शनिश्चरे । 

बाइजुराज इकाई समिति शनिश्चरेले आज (बिहिबार)  मिलाप दिवस विविध कार्यक्रम गर्दै मनाएको छ ।  प्रणामी धर्मावलम्बीहरुले रक्षा बन्धनको दिनलाई मिलाप दिवसको रुपमा मनाउने गरेका छन् ।आज भन्दा ५ हजार बर्ष अगाडी महाभारत कालदेखि नै श्रीकृष्ण प्रणामी धर्मको विजारोपण भएको हो । करीब धेरै सताब्दी पूर्व सद्गुरु श्री देवचन्द्रजी महाराजद्वारा आज भन्दा ४५० बर्ष अगाडी यस धर्मको खोज र विस्तार भएको हो । 

श्रीकृष्ण प्रणामी धर्म विस्तार हुदै स्वामी प्राणनाथजी महाराजले विभिन्न ठाउँहरुमा धार्मिक प्रचारको कार्य गर्दै आएको र आज आएर यस धर्म प्रचारको क्रममा त्यसपछिका महाराजजीहरु द्वारा भयरहेको छ । साथै आजको विशेष दिन स्वामी श्री प्राणनाथ महाराजजी तथा छत्रशाल महाराजको मिलन भएको दिनलाई प्रत्येक बर्ष मिलाप दिवसको रुपमा मनाउने गरेको जनाइएको छ ।

सोहि किम्बदन्ती अनुरुप आज श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेमा बाइजुराज इकाईले मिलाप दिवसकै अवसरमा श्री कृष्ण भगवानलाई १०८ भोग समेत चढाइएको छ ।  बाइजुराज प्रा।स।अध्यक्ष बिन्दीया बस्नेतका अनुसार यसरी भगवान कृष्णलाई शनिश्चरे इकाईले १०८ भोग चढाएको पहिलो पटक हो ।

धार्मीक आस्था र मान्यता अनुसार १०८ को महत्व एक दमै धेरै रहेकाले र भगवान श्री कृष्णलाई भक्तहरुले १०८ नाम दिएका छन् । तसर्थ पनि फलफुल, मिठाई, खिर, हलुवा लगायतका बिबिध १०८ परिकार चढाइएको बाइजुराज इकाई अध्यक्ष बस्नेतले जानकारी दिइन् ।

स्थानीय प्रणामी धर्मावलम्बी सहित बाइजुराजका पदाधिकारीहरुको सहयोगमा उक्त सामाग्री जुटाइएको बाइजुराज प्रास उपाध्यक्ष रश्मी घिमिरेले बताइन् । साथै आज उपस्थित भक्तजन तथा सहभागिका लागि एक दिनको भण्डार कुंवर तथा बिष्ट परिवारले उपलब्ध गराइएको जनाइएको छ ।

अर्जुनधारा ८ का लिला कुंवर, खगेन्द्र कुवंर, बिर्ख कुवंर, विरेन्द्र कुवंर, हेमन्त कुवंर, हर्क कुंवर तथा अर्जुनधारा ९ का पवित्रा बिष्ट र कुलबहादुर विष्टले भक्तजनका लागि निःशुल्क भोजन तथा प्रसाद उपलब्ध गराएका हुन् ।

शनिश्चरे मन्दिरमा नागपञ्चमीदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्री कृष्ण कथा भइरहेको छ । बितक श्री कृष्ण जन्माष्टमी सम्म चल्ने श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेका अध्यक्ष तथा सत्सङ सेवा परिषद झापाका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए ।

वितक कथाको प्रमुख  वाचक शास्त्री आशिष भण्डारी रहेका छन् । उनले प्रणामी धर्मको इतिहास तथा श्रीमद् वितकको महत्वको बारेमा जानकारी दिंदै प्रवचन दिइरहेको पनि अध्यक्ष बस्नेतले बताए । करीब २ सयबढी सुन्दर साथजी भक्तजनको सहभागिता रहँदै आएको जनाइएको छ ।