बिर्तामोड।
झापाको मेचीनगरस्थित धुलाबारीबाट प्रहरीले प्रदेशसभा सदस्य सविना बजगाईंका छोरा हिमाल बजगाईंसहित तीनजनालाई गाँजासहित पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा धुलाबारीको प्रहरी टोलीले मेचीनगर–१० का ३४ बर्षिय नविमिया चुरौतेको घरमा छापा मार्दा एक किलो ७०० गाँजा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
चुरौतेको घरमा छापा हान्दा गाँजासहित सविना बजगाईंका छोरा २५ बर्षिय हिमाल बजगाईं र २५ बर्षिया स्मृति लिम्बूलाई प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले चुरौतेको घरमा छापा मार्दा मेचीनगर–१० का वडाध्यक्ष, वडा सदस्य स्थानीयबासी समेत पुगेका थिए ।
तीनैजनालाई आवश्यक सोधपुछका लागि इलाका प्रहरी कायालर्य धुलाबारीमा राखिएको छ । चुरौते लागू औषध कारोबारी भएकाले उनलाई मुद्दा चलाउने र बजगाई र लिम्बुको साथबाट लागू औषध नभेटिएकाले उनीहरुलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइने डिएसपी रिजालले जानकारी दिए ।