कनकाई।
झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको ‘कनकाई विहानी क्लब’द्वारा सञ्चालित विहानी महिला समूहले तीज मिलन कार्यक्रम गर्ने भएको छ ।
रीतिरिवाज, संस्कृति र परम्परालाई बचाइराख्न कार्यक्रमको आयोजना गर्न लागिएको समूहकी अध्यक्ष इन्दिरा भुजेल (मन्जु) ले जानकारी दिइन् । आगामी २३ गते शनिबार विहानी क्लबको सभाहलमा कार्यक्रम आयोजना गर्न लागिएको समूहकी सचिव सुरेखा शर्मा घिमिरेले बताइन् ।
तीज भन्ने बित्तिकै आजकल प्रायजसो नाचगान गरी रमाइलो गर्ने बुझिन्छ । तर, तीज चेली–माइतिको सम्बन्धलाई अझ प्रगाढ बनाएर चेलीले आफ्नो बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गर्न लागिएको समूहकी सल्लाहकार निर्मला बस्नेतले बताइन् ।
तीज कार्यक्रम सम्पन्न गर्न समूहकी उपाध्यक्ष गायत्रा विमली (उप्रेती) को संयोजकत्वमा पाँच सदस्यीय उपसमिति समेत गठन गरिएको छ । उपसमितिको सदस्यमा तुलसा थापा, उसा भुजेल (मनु), कृष्णमाया ढकाल र बालिका चौहान रहेका छन् ।
पछिल्लो समय चाडपर्वहरु मनाउँदा विदेशी संस्कृति तथा भेषभूषा भित्रिएको भन्दै जतिसक्दो आफ्नै मुलुकमा उत्पादन भएका भेषभूषाको प्रयोग गरी आफ्नै पहिचान झल्कने कला र संस्कृति बचाई राख्न पनि कार्यक्रम आयोजना गर्न लागेको हो ।
वर्षमा एक दिन मात्रै भए पनि माइतिको सम्झना आमाले पकाएको दरको याद आफ्नो जीवन साथी भने जस्तै पाए पनि माइती घरमा नभएका कारण दुःख पाएको कुरालाई भुल्नकै लागि भए पनि कार्यक्रम गर्न लागेको संयोजक उप्रेतीको भनाइ छ । अहिले नयाँ नेतृत्वमा चयन भएसँगै समूह सामाजिक कार्यमा समेत सक्रिय रुपमा लागिपरेको पाइएको छ ।