हर्कटे।

झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक तथा सिकाइ आदान–प्रदान विभिन्न १३ बँुदे निर्णय गर्दै शनिबार इलामको सूर्योदय नगरपालिका हर्कटेमा सम्पन्न भएको छ ।

समन्वय समितिका संयोजक बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षता, रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास) को प्रमुख आतिथ्य तथा उपाध्यक्ष विष्णुमाया खवासको विशेष आतिथ्यमा भएको बैठकमा पालिकाकोबीच सिकाइ आदानप्रदान गरिएको थियो ।

वैठक शुक्रवार शुरु भएको थियो । समितिले पालिकाले बनाउनुपर्ने नीति–कानून, उपप्रमुख–उपाध्यक्षहरुको अधिकारमाथि भएको हस्तक्षेप, पालिकाबीचको समन्वय, साझेदारी, स्थानीय उत्पादनको प्रबद्र्धन लगायतका विषयमा निर्णय गरेको हो । वैठकमा सबै पालिका उपप्रमुख उपाध्यक्षहरुले आफ्नो पालिकाका उपलब्धि, असल अभ्यासबारे रिपोर्टिङ गर्नुका साथै समस्याहरु खुलेर बताएका थिए ।

पालिकाहरुबीच सिकाइ आदानप्रदान र उपप्रमुख र उपाध्यक्षहरुले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउने उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको समन्वय समिति बनाइएको हो । सञ्जालको बैठक हरेक दुई महिनामा हुने गरेको छ ।  समितिमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् । वैठकको संयोजन संवाद समूह झापाले गरेको थियो । समितिले अन्तर जिल्ला पालिकावीच पनि सिकाइ आदान प्रदानको अवसर लिएको छ । यस क्रममा रोङ गाउँपालिकामा भएका असल अभ्यासबारे जानकारी लिनुका साथै झापाका पालिका उपप्रमुख उपाध्यक्षहरुले त्यहाँको गुन्द्रुक तथा सिस्नो प्रशोधन उद्योगको अवलोकन गरेका थिए ।

झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठकले आगामी समयका लागि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंलाई संयोजकमा सर्वसम्मत चयन गरेको छ ।  निवर्तमान संयोजक नगेन्द्रप्रसाद संग्रौलाले नयाँ संयोजक भट्टराईलाई माइन्युटका साथ जिम्मेवारी हस्तान्तरण गरे ।

मेचीनगर नगरपालिका उपप्रमुख तथा समितिकी प्रथम संयोजक मीना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा समितिका निवर्तमान संयोजक नगेन्द्रप्रसाद संग्रौला, उपप्रमुखहरु कनकाई नगरपालिकाकी आशा शर्मा शिवाकोटी, भद्रपुर नगरपालिकाकी राधा कार्की, गौरादह नगरपालिकाकी जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाकी खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाकी नरमाया कार्की सञ्जालको सदस्य छन् ।

त्यस्तै सञ्जालको सदस्य रहेका गाउँपालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाकी अञ्जु थपलिया, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाकी शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मी मैनाली रहेका छन् । समितिको  आगामी वैठक आवासीय रुपमा धनुकटाको भेडेटारमा गर्ने समितिले निर्णय गरेको छ ।

नियमित वैठकमा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले भोगिरहेका चुनौति र समस्या तथा तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल हुदै आएको छ । यस्तो अभ्यासले कार्यसम्पादन प्रभावकारी रुपमा सम्पन्न गर्न सहज हुँदै आएको बताइएको छ ।